शान्ति सम्झौता भंग हुने देखिएपछि एमसीसी अघि बढाएकाे हाे- प्रचण्ड

मुख्य खबर सोमवार फाल्गुन १६, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एमसीसी ठिक ढंगले अघि नबढाए शान्ति सम्झौता नै भंग हुने भएकाले अनुमोदन गरिएको स्पष्ट पारेका छन् । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष प्रचण्डले मुलुकलाई दुर्घटना नपार्नका लागि एमसीसी पास गर्नु परेको बताए ।

उनले सत्ता गठबन्धन भत्तिने र अझै सरकार अस्थिर बन्ने देखिएपछि आफूले एमसीसीलाई अगाडि बढाएको बताए ।

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भने, ‘पहिले अमेरिकाले नेपाललाई अनुदान दिने भयो भनेर हामी सबै खुसी थियौँ तर नेकपाको सरकार बनेपछि यो विषय गिजोलियो, एमसीसी प्रोजेक्टलाई अमेरिकाकै केही मन्त्रीहरूले आईपीएसको अङ्ग भनेर भनेपछि थप विवादमा आयो, यस्तै त्यति बेलाका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली अमेरिका गएपछि नेपाल पनि नेपाल आईपीएसकै सदस्य भयो भन्ने समाचार आयो र विवादमा आयो ।’

आफूहरू नेकपामै रहँदा एमसीसी सम्झौतामा भएका विषय स्पष्ट नगरि पास नगर्ने अडान राखेको तर त्यति बेलाका अध्यक्ष केपी शर्मा ओलीले जस्ताको त्यस्तै पारित गर्ने अडान राख्नुभएको प्रचण्डको जिकिर छ । ‘एमसीसीमा पहिला ओरिजिनल सहमति हुँदा संसदबाट पारित गर्नुपर्ने प्रावधान थिएन तर सन् २०१९ मा ओली सरकारले नै संसदबाट पारित गरेर कानुनी हैसियत दिने भनेपछि विवादित बन्यो’, उनले भने ।

एमसीसीबारे विवाद बढ्दै गएपछि नेकपाको कार्यकारी अध्यक्षको हैसियतमा आफूले केन्द्रीय कमिटीको बैठकमा एमसीसी संशोधन गरेर मात्रै पास गर्नुपर्ने प्रस्ताव राखेको प्रचण्डको भनाइ छ ।

‘मेरै अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकमा मैले नै गम्भीर विषय भएकाले संशोधन गरेर र राष्ट्रिय सहमति जुटाएर मात्रै निचोडमा पुग्न उचित हुन्छ भनेको थिएँ । त्यसपछि कार्यदल बन्यो, कार्यदलले दिएको निचोड एमसीसी खारेज गर्ने भन्ने थिएन तर केही विषय अलि गम्भीर प्रकृतिका कुरा छन् भन्ने कुरा आएपछि हामीले जस्ताको त्यस्तै पास गर्न सकिन्न भन्यौँ’, प्रचण्डको भनाइ छ ।

Leave a Comment