काठमाडौं । लामो समयको विरोधका बाबजुद अनिर्णित बन्दै आएको अमेरिकी सहयोग सम्झौता एमसीसी प्रतिनिधि सभाको बैठकमा बहस भएको छ । व्याख्यात्मक घोषणा पछि सत्ता गठबन्धनका शिर्ष दलहरुको सहमती पछि प्रतिनिधि सभामा छलफलका लागि अघि बढाइएको उक्त सहयोग सम्झौतामा सत्ता गठबन्धनका दलहरुले फरक फरक मत राखेका छन् ।
आफ्नै पार्टीको विरोध छलेर एमाले सांसद भीम रावल एमसीसीमाथिको सैद्धान्तिक छलफलमा सहभागी भएर एमसीसीको विरोध जनाए । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले सम्झौताको सम्पूर्ण बुँदामाथि सार्वभौम संसद्मा छलफल गर्ने वातावरण नबनाइ पारित गर्न खोज्नु आपत्तिजनक रहेको बताएका हुन् ।उनले भने,ुएमसीसीका दस्तावेजहरु सदनमा नल्याइकन कसरी हुन्छ । तपाईं हामी भेडा बाख्रा हैनौं ।
त्यसैगरि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू एमसीसी सम्झौताको पक्षमा रहेको बताएका छन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसीमा व्याख्यात्मक टिप्पणी गर्नुको कुनै अर्थ नभएको दाबी गरेका छन् । उनले एमसीसी आर्थिक वृद्धि र गरिबी अन्त्यको लागि आएको परियोजना हो भनेर झुटो प्रचार गरिएको बताए ।
त्यसै गरि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी सम्झौता केवल आर्थिक सहायताको विषयमात्रै नभएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै लिङ्देनले एमसीसीलाई तत्काल स्थगित गरेर राष्ट्रिय सहमतिका साथ अगाडि बढाउनुपर्ने माग गरे ।