काठमाडौं । प्रतिनिधिसभाको बैठक आज फेरी बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने सम्भावित कार्यसूची छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ ।
दोस्रोे कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ । यस्तै प्रतिनिधिसभाको बैठकअघि बिहान साढे ११ बजे नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समिति बोलाइएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ । यसअघि यही फागुन १२ र १३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो । एमसीसी सम्झौता संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धन दलभित्रै विवाद रहेकाले यसअघिका बैठक स्थगित भएको थियो ।
यसैबीच प्रतिपक्ष दल नेकपा एमलेले भने आजको संसदपनि अबरुद्ध गर्ने जनाएको छ । एमसिसीको बिषयमा आफ्नो स्पष्ट धारणा नबनाइसकेको एमालेले आजको संसद बैठक पनि अबरोध गर्ने एमालेका प्रवक्ता शेर ब. तामाङले नेपाल एफएम नेटवर्कलाई जानकारी दिनुभयो ।
सभामुख अग्नि सापकोटाको कार्यशैली तथा आफ्ना १४ जना सांसदको कारबाहीको माग गर्दै एमालेले निरन्तर संसद बैठक अबरुद्ध गर्दै आएको छ ।