प्रतिनिधिसभाको बैठक बस्दै,एमसीसी सम्झौता माथि छलफल हुने

मुख्य खबर शुक्रबार फाल्गुन १३, २०७८

काठमाडौं । प्रतिनिधि सभाको १० औं अधिवेशन अन्तर्गतको सातौं बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावबारे छलफल प्रारम्भ हुने भएको छ ।

यसअघि हिजोका लागि बोलाइएको बैठक सरकारको आग्रहमा अन्तिम समयमा स्थगित गरिएको थियो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तावमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो । त्यसैगरी बैठकको कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचीसमेत रहेको छ ।

संसद् सचिवालयमा दर्ता भएको करिब साढे २ वर्षपछि एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव गत आइतबार मात्र संसदमा टेबल गरिएको छ । एमसीसीका विषयमा दलहरुबीच एक मत बन्न सकेको छैन। नेपाली कांग्रेसले आफ्ना सांसदलाई बैठक अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ। लामो समयदेखि संसद् अवरुद्ध गरेको नेकपा एमाले भने आज पनि अवरोध कायमै राख्ने एमाले नेता शेर बहादुर तामांगले बताउनुभयो ।

माओवादी केन्द्रभित्र विवाद कायम रहेको छ । गतसाता सम्पन्न संसदीय दलको बैठकले विपक्षमा अधिने निर्णय गरेको थियो। एकीकृत समाजवादीभित्र पनि एमसीसीलाई लिएर विवाद भएको छ। केन्द्रीय कमिटी बैठकले विपक्षमा रहने निर्णय गरे पनि सरकारमा रहेका मन्त्रीहरु पक्षमा रहेका छन्।

Leave a Comment