अमेरिकाद्धारा रुस माथि नाकाबन्दीको घोषणा

अन्तर्राष्ट्रिय बुधबार फाल्गुन ११, २०७८

एजेन्सी । अमेरिकाले रुस विरुद्ध नयाँ नाकाबन्दीको घोषणा गरेको छ । युक्रेनबाट छुट्टिन खोजेका दुई वटा प्रान्तलाई रुसले स्वतन्त्र देशको मान्यता दिंदै तिनीहरुको सुरक्षाका लागि भन्दै सेना पठाएको प्रतिक्रिया स्वरुप अमेरिकाले नाकाबन्दी लगाएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गएराती जारी गर्नुभएको नाकाबन्दी सम्बन्धि आदेश अनुसार अब रुसलाई पश्चिमा वित्त बजारमा निषेध गरिने छ ।रुसले पश्चिमा देशहरुबाट कुनै पनि आर्थिक सहयोग गर्न पाउने छैन ।

त्यस्तै रुसले युरोपसहित पश्चिमा देशहरुसंग नयाँ ब्यापार गर्न पनि पाउने छैन । राष्ट्रपति बाइडेनले रुसले छिमेकी देशको सार्वभौमिकतामाथि हनन् गरेको भन्दै रुस यो भन्दा अघि बढ्यो भने आफूहरु कठोर जवाफ दिन तयारी अवस्थामा रहेको चेतावनी पनि दिनुभएको छ । रुसले हिजो युक्रेनबाट छुट्टिनका लागि पृथकतावादी आन्दोलन चलाउँदै आएका डोनेत्स्क र लुहान्स्क नामका दुई प्रान्तलाई स्वतन्त्र देशको मान्यता दिएकोथियो । रुसी कदमलाई अमेरिकासहित पश्चिमा देशहरुले युक्रेनमाथिको आक्रमणको सुरुवात भनेका छन् ।

Leave a Comment