नेपाल–भारत ऊर्जा बैठक आजदेखि काठमाडौँमा सुरु

मुख्य खबर बुधबार फाल्गुन ११, २०७८

काठमाडाै । नेपाल–भारत विद्युत् व्यापार तथा संरचना निर्माणका विषयमा छलफल गर्न बुधबारदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दै छ ।

काठमाडौंमा हुन बैठकमा दुई देशबीचको विद्युत् आदानप्रदानका लागि पूर्वाधार निर्माणदेखि नीतिगत समस्याका विषयमा छलफल हुने जनाइएको छ । प्रत्येक छ महिनामा बस्ने प्रावधान रहेको यो बैठक एक वर्षअघि भर्चुअल रूपमा सम्पन्न भएको थियो। त्यसअघि २०७६ सालमा भारतको बैंग्लोरमा सम्पन्न भएको थियो । कोरोना महामारीका कारण बैठक समयमा बस्न सकेको थिएन । नेपालले खास गरी विद्युत् निर्यातका लागि यस पटकको बैठकमा विशेष प्राथमिकता दिनेछ ।

आगामी वर्षातमा नेपालको बिजुली धेरै भएर खेर जाने अवस्था आउने भएकाले त्यसअघि नै खुला बजारमा पहुँच स्थापित गर्न भारत पक्षलाई प्रस्ताव गर्ने बताइएको छ । नेपाल विद्युत् प्राधिकरणले हालसम्म भारतीय डे अहेड मार्केटमा त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको ३९ मेगावाट मात्र विद्युत् निर्यातको अनुमति पाएको छ ।

चार सय केभी क्षमताको ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनलाई थप क्षमतामा सञ्चालन गर्ने विषय पनि बैठकमा छलफल हुनेछ। त्यस्तै, न्यु बुटवल–गोरखपुर प्रसारण लाइन निर्माण अवस्थाको समीक्षा र लम्की–बरेली प्रसारण लाइन निर्माणबारे पनि बैठकमा छलफल हुने बताइएको छ।

Leave a Comment