काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन दलहरुले एमसीसीको पक्षमा मतदान गर्नु दायित्व भएको बताएका छन् । उनले माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टी तर्फ इंगित गर्दै एमसीसीको विपक्षमा मतदान गर्नेले सरकारसँग टाँसिरहन नमिल्ने बताए ।
सरकारको प्रस्ताव संसद्बाट सफल गराउनु सत्तारुढ दलहरूको दायित्व हो । सरकारको प्रस्तावको विपक्षमा मतदान गर्नेहरू सरकारमै बसिरहन नैतिक रुपमा पनि मिल्दैन,’ थापाले भनेका छन् । ‘यो नैतिक र राजनीतिक दुवै विषय हो । यदि सरकारमै भएका दलहरूले सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने हो भने त्यो नैतिक हिसाबले त सुहाउँदैन नै, साथै राजनीतिक हिसाबले पनि अशोभनीय हुन्छ ।’
उनले पक्ष र विपक्षमा उभिएर आफू राष्ट्रवादी र अर्कोलाई राष्ट्रघातीको आरोप लगाइसकेपछि एउटै गठबन्धनमा बस्न नसुहाउने बताए । उनले फरक–फरक ठाउँमा मत हालेर सँगै हिँड्ने प्रयास भइरहेको भन्दै त्यस्तो सम्भव नहुने बताए ।
सरकारले एमसीसी संसदमा टेबल गरेपछि नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले त्यसको विरोध जनाएका छन भने एमाले अझै सत्तारुढ दलको निर्णय पर्खिरहेको छ ।