काठमाडौं । कोरोना महामारी तेस्रो लहरयता काठमाडौँको प्रमुख पर्यटकीय स्थलहरुमा चहलपहल बढ्न थालेको छ । विश्वव्यापी रुपमा फैलिएको तेस्रो चरणको ओमिक्रोन भाइरसका कारण ठप्प रहेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै चहलपहल बढ्न थालेको हो ।
सरकारले रात्रिकालिन व्यवसायमा बन्देज लगाएसँगै सुनसान रहेको ठमेल यही फागुन १ गतेदेखि पुनः रात्रिकालिन व्यवसाय सञ्चालनमा खुला गरिँदा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । यस्तै बौद्धनाथ क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बौद्धनाथ विकास समितिका सचिव बसन्त लामा बताउनुहुन्छ ।
नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा मात्र हवाई मार्ग भएर १६ हजार ९७५ विदेशी पर्यटक नेपाल भित्रिएका छन । बोर्डका अनुसार नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार १९१, सन् २०२० मा दुई लाख ३० हजार र सन् २०२१ मा एक लाख ५० हजार ९६२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।