सत्ता साझेदार दलहरुको बैठक सुरु

मुख्य खबर शुक्रबार फाल्गुन ६, २०७८

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक सुरु भएकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेबाट  बैठक सुरु भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबल गर्ने/नगर्ने विषयमा निर्णय हुनेछ । त्यो सँगै गठबन्धनको भविष्य पनि तय हुने भएकाले आजको बैठक ‘निर्णायक’ मानिएको छ । यसअघि, हिजो बसेको बैठक बिना निष्कर्ष सकिएको थियो । नेताहरू आफ्नो अडानबाट पछि नहटेपछि बैठक निष्कर्षविहीन भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमसीसी संसद्मा टेबल गरेरै संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्नेमा हुनुहुन्छ भने, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यसको विपक्षमा हुनुहुन्छ । गठबन्धनको बैठक निष्कर्षविहीन बनेपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उहाँको निवास बालकोट पुग्नुभएको थियो ।

यस्तै प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ ।

Leave a Comment