काठमाडौं। एमसीसी सम्झौताबारे फरक कित्तामा उभिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच छुट्टै छलफल भएको छ ।
साँझ ५ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । त्यसअघि दाहाल र नेपालले यसबारे अलग्गै छलफल गरेका हुन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा प्रचण्डको कार्यकक्षमा दाहाल- नेपालबीच छलफल भएकाे हाे।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा संसद्बाट एमसीसी अनुमोदन गराउनुपर्ने पक्षमा छन् । तर‚ गठबन्धनभित्र त्यसबारे सहमति जुटेको छैन ।
छलफलपछि अध्यक्ष दाहालले गठबन्धन कसरी बचाउने भनेर प्रयासरत रहेको बताए । ‘भरे ५ बजे गठबन्धनको बैठक बस्दैछ, त्यही बैठकको तयारीबारे छलफल गर्यौँ,’ दाहालले भने, ‘गठबन्धन कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने भन्नेबारे छलफल भयो । हाम्रो जोड सकेसम्म यो गठबन्धन बचाउनेमा छ ।’ उनले गठबन्धनको छलफलबाटै निकास आउने बताए ।
बैठकबाट बाहिरिने क्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि गठबन्धनको बैठकमा त्यसबारे छलफल हुने बताए । ‘यसमा धेरै बोलेर पनि बिग्रिएको छ, अहिले केही भन्नुछैन,’ उनले भने, ‘अब गठबन्धनको बैठकबाटै निर्णयमा पुग्छौँ ।’