प्रधानमन्त्री देउवा र अमेरिकी राजदूतबीच भेटवार्ता

मुख्य खबर बिहिबार फाल्गुन ५, २०७८

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको विषयमा अमेरिकासँगको सम्बन्धदेखि सत्ता गठबन्धनमा समेत दरार आइरहेका बेला प्रधानमन्त्री देउवा र राजदुत बेरीबीच भेटवार्ता भएको हो ।

बुधबार साँझ प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानी भएको हो । देउवालाई भेट्न राजदूत बेरी करिब ६ बजे बालुवाटार पुगेका थिए । बालुवाटार स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले राजदूतसँग सत्तागठबन्धनमा आएको दरारदेखि यसका कारण निम्तिएको सडक प्रदर्शन र सहमति खोज्न दुई दिनको समय लिएको विषयमा कुरा गरेका थिए । अमेरिकाले अब एमसीसीको समय बढाउन नसकिने गरी समयसीमा दिएकाले त्यो समयसीमामा पुनर्विचारको गुन्जायस छ कि छैन भन्ने विषयमा पनि देउवाले राजदूतसँग जिज्ञासा राखेको बालुवाटार स्रोतले जनाएको छ ।

राजदूत बेरीसँगको भेटपछि बिहीबार बिहानै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच यो विषयमा बालुवाटारमा कुराकानी भएको छ ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्‌बाट अनुमोदन गराउने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद छ । सरकारले प्रतिनिधिसभाको बैठकमा टेबल गर्ने प्रस्ताव गरेपछि त्यसको विरोधमा सत्ताघटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता नै सडकमा उत्रिएका थिए ।

 

Leave a Comment