युवा नेतृ शाही र पूर्व सचिव उपाध्यायको पहलमा बाजुराका एक बेसहारा परिवारलाई बाख्रा हस्तान्तरण

Uncategorized बुधबार फाल्गुन ४, २०७८

बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका ४ वाइ निवासी बेसहारा लाल चन्द धामीलाई एक लाख ५२ हजार बराबरको आर्थिक सहयोग गरिएको छ । नेपाली कांग्रेसका बाजुराका १४ औं महाधिवेन प्रतिनिधि एवम् समाजिक अभियान्ता रीता शाहिको पहलमा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

सानो उमेरदेखि भारतमा बस्दै आएका लाल चन्द धामीको श्रीमती र जेठि छोरी भारतमै बेपत्ता भएपछि धामीलाई समेत एसिड प्रहार भएको थियो । भारतमा बस्न नसक्ने भएपछि धामी गाउँमा फर्केका थिए । गाउँमा नबस्ने घर छ नता खाने माना नै । चार जना छोरा छोरी ल्याएर गाउँ आएका धामी सहाराको खोजीमा रहेका थिए । साँझ खाए बिहान के खाने बिहान खाए साँझ के खाने भन्ने अवस्थामा रहेका धार्मी गाउँपालिकाको टिनको टहरामा रात बिताउदै आएका थिए ।

चरम कष्टमा रहेका धामीको बारेमा सामाजिक अभियान्ता एवम् युवा नेतृ रीता शाहीले नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायसँग आर्थिक अभियान सञ्चालनका लागि अनुरोध गरेकी थिइन् । सामाजिक अभियान्ता एवम् पूर्व सचिव उपाध्यायले सामाजिक सञ्जाल मार्फत विदेशमा बस्ने विभिन्न मनकारी नेपाली सहयोगीहरुको एक लाख ५२ हजार रकम संकलन गरेका थिए ।

जसमध्य ७५ हजारको उन्नत जातका तीन ओटा बाख्रा सहित ओढ्ने ओछ्याउने लुगा कपडा खाद्यान्न दाल नुन तेल चिनि लगायतका खाधान्न सामग्री वितरण गरिएको र ७२ हजार धामीलाई राष्ट्रिय वाणिज्य बैकमा खाता खोल्न लगाएर खातामा जम्मा गरिएको युवा नेतृ शाहीले बताएकी छन् ।

बाख्रा दियो भने धामीको जिविका पार्जनमा थप सहयोग पुग्ने हुदा उनलाई बाख्रा सहयोग गरिएको शाहिले जानकारी दिएकी छन् । उक्त सहयोग वितरण एक ओैपचारिक कार्यक्रमबीच स्वामिकात्र्तिक गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष काशीराम कैला, नेपाली काग्रेस महाअधिवेशन प्रतिनिधि कमल बुढा, कांग्रेस प्रदेश क का सचिव जनम धामी लगायत अन्य विभिन्न पार्टीका प्रतिनिधि र स्थानीयको उपस्थितिमा हस्तान्तरण गरिएको हो । स्थानीय र लाल चन्द धामीले आर्थिक सहयोग संकलन गर्ने भीम उपाध्याय र सहयोगका लागि पहल गर्ने शाहीलाई धन्यवाद दिएका छन ।

Leave a Comment