काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धकै कारण स्थानीय निर्वाचन धकिल्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममालाई आज पार्टी केन्द्रीय कार्यालयबाट सम्बोधन गर्दै उनले निर्वाचन नगराउने षडयन्त्र अझै पनि जारी रहेको बताए ।
“अझै पनि सजकतका साथ निर्वाचन निश्चित रुपमा गराउने र तोकिए अनुसार निर्वाचन गराउने कुरामा सजग हुन जरुरी छ । अहिले पनि सर्तक हुनुपर्छ निर्वाचन नगराउने षडयन्त्र हुन सक्छ,” उनले भने ।
उनले निर्वाचनमा समस्या खडा गर्न खोज्नेहरू अहिलेको सत्ता गठबन्धनमा भएको भन्दै निर्वाचन हुन नदिनेहरु र नगराउनेहरु भएको बताए । ‘प्रतिगमनसम्म देशलाई पुर्याउने, स्थानीय तहहरूको अवधि नथप्ने, प्रतिगमनका आधार तयार गर्नेहरु अहिलेकै गठबन्धनमा छन् र त्यो धन्दा र संयुक्त प्रयास प्रकट भइरहेको छ ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको आरोप छ ।