काठमाडौं। नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले यथास्थितीमा आँखा चिम्लेर कुनै पनि हालतमा एमसीसीलाई समर्थन गर्न नसकिने प्रष्ट पारेका छन् । एमसीसी पास गर्न अमेरिकाले चेतावनी पूर्ण रुपमा धम्की दिइरहेको बेला सत्ता गठबन्धन दलका नेता नेपालले एमसीसी पास गर्न नसकिने बताएका हुन् ।
शुक्रबार बिहान वीरगन्जमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमसीसीका केही बुँदामा प्रष्टिकरण आवश्यक रहेकाले ती बुँदाहरु संशोधन हुनु पर्नेमा जोड दिए ।
‘एमसीसीमा कतिपय कुराहरु मिलाउनु पर्ने छ,’ अध्यक्ष नेपालले भने, ‘जनमत एमसीसीको विपक्षमा छ । जनमतलाई पनि हामीले कसरी आश्वस्त बनाउने, यो एउटा ठूलो चुनौती छ । अझ यसलाई सार्न पाए राम्रो । छलफल गर्न समय पनि पाइन्छ । गहिरो गरी अध्ययन गर्न समय पाइन्छ ।’ यसको बारेमा कतिपय भएरनभएको जुन प्रचार भइरहेको छ । त्यसमा प्रस्ट पार्न आवश्यक रहेको उनले बताए ।
‘हामी यसको अझै अध्ययन गरिरहेका छौँ । अध्ययन गरी के अडान लिने भन्ने बारेमा टुंगो लगाउँछौँ,अध्यक्ष नेपालले भने, ‘अहिले यति मात्र भन्न सकिन्छ, जस्तो छ, यथास्थितिमा आँखा चिम्लेर समर्थन गर्न सकिँदैन ।’ आफूहरु कुनै सैन्य गठबन्धनमा सामेल नहुने, सुरक्षा रणनीतिको अंग नबन्ने र नेपालको भूमिमा कसैको स्वामित्व र सार्वभौम अधिकार नसुम्पिने मान्यताका साथ अगाडि बढ्ने चाहिरहेको अध्यक्ष नेपालले बताए ।
‘एमसीसी इन्डो प्यासेफिकको अंग हो कि हैन ?, यो अमेरिकाको सुरक्षा रणनीति अन्तर्गत पर्छ कि पर्दैन् ?, योजना निर्माणको क्रममा लाग्ने श्रमशक्ति नेपालीले हक रुपमा प्रयोग गर्न पाइन्छ कि पाइँदैन ?, त्यसबाट उत्पन्न हुने बौद्धिक सम्पत्तिमा नेपालको अधिकार सुनिश्चित हुन्छ कि हुँदैन् ?, त्यसको लेखा परीक्षणको हक नेपालले प्राप्त गर्छ कि गर्दैन ? लगायतका प्रश्नहरुको हामीले समुचित जवाफ खोजिरहेका छौँ,’ उनले भने, ‘एमसीसीमा जनमत विभाजित छ । पार्टीहरु पनि विभाजित छन् ।’