अझै ११ लाख बालबालिका श्रम गर्न बाध्य

समाज शुक्रबार माघ २८, २०७८

काठमाडौं । नेपालमा अझै एघार लाख बालबालिका श्रमगर्न बाध्य रहेको पाइएको छ । राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभाग र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको संयुक्त प्रतिवेदन, २०२१ का अनुसार इँटाभट्टा, गलैँचा कारखाना र मनोरञ्जनलगायतका क्षेत्रमा ११ लाख बालबालिका बालश्रम गर्न बाध्य भएको देखाएको छ ।

पाँचदेखि १७ वर्ष उमेर समूहका कूल ७० लाख बालबालिकामध्ये ११ लाख अर्थात् १५ दशमलव तीन प्रतिशत बालबालिका बालश्रमिक रहेका छन् । सन् २००८ मा १६ लाख बालबालिका बालश्रमिक रहेका थिए । राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बालश्रमिक पहिलेको भन्दा घटेपनि अझै बालबालिका बालश्रम गर्न बाध्य हुनु दुःखद भएको बताउनुहुन्छ ।

धरेले बालश्रम निर्मूल पार्न निरन्तर साझा प्रयास हुनुपर्नेमा जोड दिनुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव गुरूदत्त सुवेदीले बालश्रम अन्त्यका लागि हरेक क्षेत्र, समाज, परिवारले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो ।

Leave a Comment