चुनावका लागि मात्रै ५० अर्ब रुपैयाँ बजेट माग अर्थमन्त्री शर्मा

मुख्य खबर बिहिबार माघ २७, २०७८

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताउनुभएको छ । आर्थिक वर्ष २०७८÷७८ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको बताउनुभयो । अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन भइरहेको बताउनुभयो ।

चालू आर्थिक वर्षको बजेटमा तोकिएअनुसार खर्च नहुने भएपनि सरकारले बजेटको आकार नै साढे ८६ अर्ब रुपैयाँले घटाएको छ । सरकारले गत भदौमा प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएको थियो । विधेयकमार्फत विनियोजित बजेटको आकार घटाएर अर्थ मन्त्रालयले चालू वर्ष ९४.७ प्रतिशत मात्रै खर्च गर्ने गरी बजेट संशोधन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज अर्थ मन्त्रालयमा आयोजना गरेको बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा खर्च नहुने रकम ८६ अर्ब ५५ करोड रहेको बताउनुभयो ।

खर्च नहुने रकम घटाएर बजेट संशोधन गरिएसँगै अब चालू आवको लागि बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड रुपैयाँ भएको छ । सरकारले संशोधन गरेको बजेटसँगै अब चालूतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड रुपैयाँ खर्च गर्ने जानकारी दिइएको छ । बजेटबाट पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड रुपैयाँ खर्च गरिने भएको छ । यसअघि सरकारले चालू आवको बजेटमा पुँजीगत खर्च ३ खर्ब ८७ अर्ब १० करोड गर्ने लक्ष्य राखेको थियो ।

Leave a Comment