काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले नेकपा एमालेले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहने बताएका छन् ।
काठमाडौं महानगरपालिका २१ वडामा निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बिहीबार महानगर प्रमुख शाक्यले फेरि आफ्नो दाबेदारी रहने बताएका हुन् । उनले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बताएका हुन् ।
मेयर शाक्यले भने, ‘आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यक्ताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो ।’
महानगरमा एमालेले जित्ने अवस्था रहेको बताउँदै मेयर शाक्यले आफ्नो कार्यकालमा धेरै आयोजनाको शिलान्यास गरेको जिकिर गर्नुभयो ।
‘महानगरवासीको चाहना के छ ? त्यो पार्टीले बुझेर पार्टीले जिम्मा दिए काम गर्ने हो, होइन भने पार्टीले जसलाई जिम्मा दिएपनि काठमाडौं महानगरपालिका हामी जित्ने गरेर तयारी अवस्थामा छौं,’ उनले भने ।
‘विकास निर्माणका काम भनेको निरन्तर रुपमा चल्ने हो, कहिले पनि सकियो भन्ने हुँदैन । एउटा सकिन्छ, अर्को काम शुरु हुन्छ । यो निरन्तर रूपमा चलिरहन्छ,’ उनले थपे, ‘हामीले हाम्रो कार्यकालमा धेरै शिलान्यास गरिसकेका छौँ । शिलान्यास धेरै भयो उद्घाटन कहिले हुन्छ भन्ने कुरा आउँछ, निश्चित समयमा बन्छ ।’