एसइईको परीक्षा वैशाख ९ गते देखि हुने

मुख्य खबर बिहिबार माघ २७, २०७८

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) ९ वैशाखदेखि सुरु हुने भएको छ । एसइई प्रदेशस्तरमा सञ्चालन हुनुपर्ने आवाज उठे पनि आवश्यक पूर्वाधार र तयारी नहुँदा राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्न लागेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बुधबार बसेको बोर्ड बैठकले ९ देखि २० वैशाखसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बताए । ३० वैशाखमा स्थानीय तहको चुनाव हुने निर्णय भएकाले त्यसको तयारीका लागि १० दिनअघि नै सक्ने गरी परीक्षा तोकिएको अध्यक्ष शर्माले बताए ।

१७ वैशाखमा साधारण विषयको परीक्षा सकिनेछ भने २० वैशाखसम्म प्राविधिक धारका विषयको समेत परीक्षा सम्पन्न हुनेछ । कक्षा १२ को परीक्षा भने जेठपछि हुनेछ । विगतमा राष्ट्रिय परीक्षा बोर्डबाट मंसिरमै एसइईको तालिका सार्वजनिक हुने गरेको थियो । कोरोनाका कारण अघिल्ला दुई वर्ष भने एसइई भएको थिएन ।

विद्यालयको आन्तरिक मूल्यांकनलाई नै परीक्षा बोर्डले वैधानिकता दिएको थियो । यस वर्ष पनि विभिन्न कारणले वेलैमा परीक्षाबारे निर्णय नहुँदा विद्यार्थी, शिक्षक तथा अभिभावक अन्योलमा परेका थिए । यस वर्षको एसइईमा देशभरबाट पाँच लाखको हारहारीमा विद्यार्थी सहभागी हुँदै छन ।

Leave a Comment