काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक काठमाडौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । माओवादीले आउँदो २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकबाट केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने माओवादीले जनाएको छ ।
माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ । बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन, स्थानीय तहको चुनाव घोषणापछिको अवस्थाल गायतका विषयमा छलफल हुने बताइएको छ । बैठक बिहान ११ बजेदेखि सुरु हुने अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।
गएको पुस तेस्रो हप्ता आठौँ राष्ट्रिय महाधिवशेन सम्पन्न गरेको माओवादीको केन्द्रीय समिति बैठक विभिन्न कारणबाट सर्दै आएको थियो । बैठक सरेपछि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन । महाधिवेशन सम्पन्न भएपछि बसेको पहिलो बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाललाई सर्वसम्मत चयन गरेको थियो ।