काठमाडौं ।नेपालमा थप ८ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत बेलायत सरकारको सहयोगमा उपलब्ध २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये हिजो आठ लाख ६२ हजार ८० मात्रा खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्रले चौरसियाले जानकारी दिनुभयो ।
बाँकी १३ लाख १२ हजार ८० मात्रा खोप फ्रेबुअरी १४ तारिख अर्थात् फागुन २ गते आइपुग्ने डा. चौरसियाले बताउनुभयो । नेपालले विभिन्न माध्यमबाट हालसम्म चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप प्राप्त गरेको छ । यसैबीच, सरकारले ६ जिल्ला र १ सय ९ स्थानीय तहलाई खोपको मौज्दात विवरण बुझाउन निर्देशन दिएको छ । मन्त्रालयले हिजो एक सूचना जारी गर्दै ६ जिल्ला र १ सय ९ स्थानीय तहलाई कोरोनाविरुद्वको खोपको मौज्दात विवरण भोलि दिउँसो ४ बजेसम्म अनिवार्य रुपमा प्रविष्ट गर्न निर्देशन दिएको हो ।
कोरोनाविरुद्वको खोप अभिलेख सम्बन्धमा छानबिन गर्न गठित समितिको पहिलो बैठकको निर्णय अनुसार कोरोनाविरुद्वको खोप मौज्दात र कोरोना खोप लगाएका सबै व्यक्तिहरूको विवरण २०६८ माघ २१ गतेसम्म अनिवार्य प्रविष्ट गर्न भनिएकोमा ६ जिल्ला र १ सय ९ स्थानीय तहले अझै विवरण पठाएको छैन ।