काठमाडौं । कर्णाली प्रदेशमा जेल सजाय भोगेका गैर सांसद माओवादी केन्द्रबाट मन्त्री बनेका छन्। हिजो छिरिङ डम्डुल लामा ( कार्चेन लामा) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका हुन्। हुम्लाका उनी जेल सजाय भोगेका र गैर सांसद हुन्।
सांसद नभएकालाई छ महिना मन्त्री बनाउन सकिने प्रावधानको आडमा गैर सांसदलाई मन्त्री बनाइएको हो । लामा मूर्ति चोरीको अभियोगमा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गरिसकेका व्यक्ति भएको भन्दै आलोचना भइरहेपनि उहाँ मन्त्री बन्नु भएको हो । प्रदेश कमिटी र संसदको विरोध रहँदा पनि प्रचण्डको निर्देशनमा उहाँ मन्त्री बन्नु भएको हो ।
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले हिजो नियुक्त गरेका भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदमबहादुर रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ दमडुल (कार्चेन) लामा, जलस्रोत तथा उर्जामन्त्री गणेशप्रसाद सिंह, सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । कर्णालीमा ८ सदस्यीय मन्त्रीमण्डल बनेको छ ।