भिजिट भिसामा अलपत्र परेका नेपालीहरुको व्यवस्थापनमा सरकार जुट्यो

मुख्य खबर सोमवार माघ २४, २०७८

काठमाडौं ।रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापनमा सरकार जुटेको छ । युएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ त्यसतर्फ जाने भएका छन्।

वैदेशिक रोजगारीको प्रलोभनमा परी भिजिट तथा अन्य भिसामा युएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ युएई जान लागेको श्रम मन्त्रालयले जनाएको छ । नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपालका लागि (युएई) का राजदूत साइद हमदान अल नाकीसँग छलफल गर्नुभएको थियो ।

छलफलमा उनले रोजगारीको प्रलोभनमा युएई गई अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गर्नुभएको थियो । मन्त्री श्रेष्ठको युएई भ्रमणका क्रममा नेपाल–युएई संयुक्त समितिको बैठक पनि आयोजना हुनेछ ।

Leave a Comment