हावाहुरीका कारण रुख ढल्दा ३ जनाको मृत्यु

समाज शुक्रबार माघ २१, २०७८

काठमाडौं । मधेस प्रदेशमा आज बिहानैदेखि तीव्र गतिमा चलेको हावाहुरीका कारण रूख ढल्दा च्यापिएर ३ जनाको मृत्यु भएको छ । धनुषाको सबैलामा २ जना र रौतहटमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हावाहुरीले रुख ढाल्दा च्यापिएर मृत्यु हुनेहरू मध्ये धनुषा सबैलाका ८ वर्षका प्रतिमाकुमारी सदा र १२ वर्षका अरविन्द सदा रहेका प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी तुलबहादुर कार्कीले जानकारी दिनुभयो । यस्तै रौतहटमा हावाहुरीले ४५ वर्षकी महिला फूलमति देवीको मृत्यु भएको छ । रुख ढलेर घरमाथि खस्दा घर भत्किएपछि च्यापिएर उहाँको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
यसैबीच, तीव्र हावाहुरीका कारण मधेसको प्रदेश सभाको वार्षिकोत्सव समारोहसमेत स्थगित भएको छ ।

हावाहुरीले त्रिपाल र मञ्चमासमेत क्षति पु¥याएको थियो । वार्षिकोत्सव समारोहका लागि जनकपुरस्थित प्रदेश सभा परिसरमा तयार पारिएको पन्डाल र टेन्ट उडाएपछि कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार प्रभाकर सिंहले जानकारी दिनुभयो । हावाहुरीका कारण सांसदको पनि सहभागिता कम हुने भएकाले कार्यक्रम स्थगित भएको संसद् सचिवालयका कर्मचारीले बताएका छन् । प्रदेश सभा सचिवालय शुक्रबार चार वर्ष पूरा भई पाँचौं वर्षमा प्रवेश गरेको छ ।

Leave a Comment