त्रिविका विभिन्न संकायका स्थगित परिक्षा फागुनबाट सञ्चालन हुने

मुख्य खबर बिहिबार माघ २०, २०७८

काठमाडौं। कोभिड–१९ का कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन एक गतेदेखि हुने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले हिजो विभिन्न संकायका डिनसहित बसेको बैठकले स्थगित सबै  परीक्षा फागुन एक गतेदेखि गर्ने निर्णय गरेको जानकारी दिनुभयो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका समेत सार्वजनिक गरेको छ ।

त्रिविको सूचना अनुसार फागुन एक गतेदेखि वार्षिक परीक्षा अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको ४ वर्षे बीएस्सी तथा बीएड चौथो वर्षको नियमित तथा आंशिक परीक्षा गर्ने समय तालिका सार्वजनिक गरेको छ । त्रिविले कोरोना संक्रमण तीव्र रुपमा फैलदै गएपछि माघ १० गतेपछिका निर्धारित सबै परीक्षा स्थगित गरेको थियो ।
काेराेनाका कारण विद्यार्थी मारमा 
विश्वभर फैलिएको कोरोना संक्रण नेपालमा फैलिए यता विद्यार्थीले राम्रोसँग पढ्न पाएका छैनन् । पटक पटक हुने लकडाउन र कोरोनाको संक्रमणले विद्यालय बन्द हुने र खुल्नेक्रम अहिले पनि जारी रहेको छ । जसको प्रत्यक्ष असर विद्यार्थीमा परिरहेका छ । विद्यालय बन्द गरी शिक्षकले तलब खाइरहेको बेला विद्यार्थीहरु आफ्नो भविष्यप्रति चिन्तत् हुन थालेका छन् ।

अहिले पनि सरकारले देशभरका विद्यालय बन्द गरी फागुनबाट खोल्ने तयारी गरिरहेको छ । सरकारले पटक पटक विद्यालय बन्द गर्ने र खोल्ने समस्याले शिक्षाका विषयमा राज्य नै अबुझ भएको शिक्षाविद् विद्यानाथ कोइरालाको आरोप छ ।

कोइरालाले विद्यार्थीलाई घरमै घरमै बसेर बाह्य ज्ञान लिन आग्रह गर्नुभयो ।

Leave a Comment