काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पूरा समय टिक्ने दाबी गर्नुभएको छ ।
बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन नटुट्ने दाबी गर्नुभएको हो ।
उहाँले गठबन्धन टुटाउने प्रयास भइरहेको भएपनि गठबन्धन सरकारलाई टुट्न नदिने र जेठमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकार मिलेर प्रतिष्पर्धा गर्ने बताउनुभयो । अध्यक्ष नेपालले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा गठबन्धनलाई बलियो बनाएर लैजाने प्रतिवद्धता भएको बताउनुभयो ।
अध्यक्ष नेपालले देश अब गठबन्धनको राजनीतिमा अघि बढ्ने भएकोले त्यसपछिका दिनमा पनि गठबन्धनका विभिन्न स्वरुपहरु देख्न पाइने बताउनुभयो । उहाँले राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धन विजयी भएको र विजयको यात्रा आगामी वर्षको मंसिर महिनामा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म कायमै रहने बताउनुभयो ।