काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपाल आयल निगम समेत घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन ।
विश्व बजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले फेब्रुअरी १ तारिखमा नयाँ मूल्य सूची पठाएको छ । पन्ध्र दिनअघिको तुलनामा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ९२ पैसा, डिजेलमा प्रतिलिटर सात रुपैयाँ २४ पैसा, मट्टितेलमा प्रतिलिटर आठ रुपैयाँ ८० पैसा तथा हवाई इन्धनमा प्रतिलिटर सात रुपैयाँ ४८ पैसा बढेको छ ।
एलपी ग्यासमा प्रतिसिलिण्डर ८१ रुपैयाँ ६२ पैसा घटेको छ। निगमले गए राति १२ बजेदेखि डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर रु तीन रुपैयाँले वृद्धि गरेको छ । यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको छ ।