क्यानडामा ट्रक चालकहरुले सडकमा ट्रक तेर्स्याएपछि यातायात सेवा अवरुद्ध

अन्तर्राष्ट्रिय सोमवार माघ १७, २०७८

एजेन्सी । ट्रक चालकहरुलाई पनि कोरोना खोप अनिवार्य गरिएपछि क्यानडामा विरोध प्रदर्शन जारी छ । प्रदर्शनका कारण असुरक्षित महसुस गर्दै प्रधानमन्त्रीले जस्टिन ट्रुडोले परिवारका सदस्यसहित राजधानी ओटावास्थित आफ्नो घर छाडेर अन्यत्र गएको बीबीसीले जनाएको छ ।

अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकहरुलाई पनि कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको छ । त्यसको विरोधमा ट्रक चालकहरुले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक तेर्स्याएर यातायात सेवा अवरुद्ध पारेका छन् । ट्रक चालकहरुलाई साथ दिंदै अन्य हजारौं नागरिकहरु पनि प्रदर्शनमा उत्रिएका छन् ।

विरोध प्रदर्शनका कारण दोस्रो दिन पनि क्यानडाको राजधानी ओटावा ठप्प भएको बीबीसीले जनाएको छ । यो विरोध प्रदर्शनलाई ‘फ्रिडम कन्भोई’ नाम दिइएको छ । कतिपय प्रदर्शनकारी ओटावाका स्मारकहरुको अपमान गर्ने ढंगले प्रस्तुत भएका छन् ।

Leave a Comment