काठमाडौं । संसदको माथिल्लो सदन राष्ट्रिय सभा बैठक पटक पटक सर्दै आइरहेको छ । संसदको स्थायी सदनको रुपमा रहेको उक्त सभा बैठक नबस्दै पटक पटक स्थगन हुँदै आएको छ । संसदको हिँउदे अधिवेशन सुरु भएपश्चात प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध र पछिल्ला दिनहरुमा दलहरुको सिफारिसका आधारमा बैठक स्थगन हुँदै आएको थियो ।
भोली अर्थात सोमबारका लागि आव्हान गरेको राष्ट्रिय सभा बैठक विशेष कारणवश भन्दै संसद सचिवालयले स्थगित भएको सूचना जारी गरेको छ । ‘मिति २०७८ साल माघ १७ गते सोमबार दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद्‚ राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिउको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली‚ २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगित भएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ‚’ संघीय संसद् सचिवालयद्वारा जारी सूचनामा भनिएको छ ।
यसअघि माघ ३ गतेको बैठक पनि ‘विशेष कारणवश’ बस्न नसक्ने भएपछि स्थगित गरिएको थियो । त्यस्तै प्रतिनिधि सभाको बैठक भने कोरोना महामारीका कारण देखाउँदै स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । प्रतिपक्ष दल सत्तारुढ दलका कारण संसद बैठक बस्न नसक्दा महत्वपूर्ण विधेयकहरु अलपत्र परेका छन् ।