भूपेन्द्र शाह ठकुरी
माओवादी केन्द्रले आठौं महाधिवेशन गरेको एक महिना पुगिसकेको छ । तर पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारीमा सबैभन्दा बढी विवाद महासचिवमा देखिएको छ । पहिला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमणले पछि सारिएको पदाधिकारी छनौट पछि बर्षमान पुन अनन्त उपचारका लागि विदेश हुनुलाई मानिएको थियो । अहिले प्रचण्डलाई ठीक छ । पुन स्वदेश फर्किनु भएको छ । अब छनौट होलान त पदाधिकारी ?
सत्तारुढ माओवादी केन्द्रको पुस ११ देखि १८ गतेसम्म काठमाडौँमा भएको ८औँ महाधिवेशन अध्यक्ष छानेपछि सकिएको थियो । चुनाव हुनुपर्ने प्रतिनीधिको चाहाना भएपनि पदाधिकारी छान्ने जिम्मा केन्द्रीय कमिटीलाई दिएको थियो । महाधिवेशनले पदाधिकारी चयन नगर्नुको मुख्य कारण चाहीँ नेता बर्षमान पुन स्वदेशमा नहुनुलाई मानिएको हो । पुन फर्किएपछि अब भने यही महिनाभित्र सबै टुङ्गो लगाउने भनिएको छ । यसै महिना माघ २७ गते केन्द्रीय कमिटी बैठबबाट पदाधिकारी छानिने नेता देवेन्द्र पौडेलको दावी छ ।
माओवादी केन्द्रमा महासचिव बन्ने नेताहरुबीच प्रतिष्पर्धाको विषय पेचिलो छ । अहिले नेता पुन स्वदेश फर्के लगत्तै महासचिवमा दावी गरेर अध्यक्ष प्रचण्डलाई भेटगरिसक्नु भएको छ । भेटमा आफ्नो दावी सुनाइसक्नु भएको छ ।
वर्षमान पुन र जनार्दन शर्माबीच मुख्य प्रतिष्पर्धा देखिन्छ । प्रचण्डले भने दुईबीच सहमति नभए तेस्रो नेतालाई महासचिव बनाउने मनस्थितिमा छन् । तेस्रो नेताका रुपमा कृष्णबहादुर महरालाई हेरिएको छ । महासचिबमा पम्फा भुसाल, देव गुरुङ र शक्ती बस्नेतले पनि आकांक्षा देखाउनु भएको छ । महासचिव भावी अध्यक्षको दावेदार भएकाले पनि पदमा पुग्न नेताहरुको जोडबल छ । राजनीतिक विश्लेषक मुक्ता श्रेष्ठ प्रचण्डसँग जसको बढी राजनीतिक तरङ मिल्छ उही महासचिव हुने विश्लेषण गर्नुहुन्छ ।
हुन त विधानमै कति पदाधिकारी हुने भन्ने टुङ्गो लाग्न सकेको छैन । तर, अध्यक्ष, एक वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष, एक महासचिव, दुइ उपमहासचिव र बाँकी सचिव राखेर पन्ध्र पदाधिकारी बनाउने सहमति भइसकेको छ । नेताहरुको दावी हेर्दा माओवादीलाई पदाधिकारीको संख्या र नेता व्यवस्थापन गर्न पेचिलो देखिएको छ ।