आज सहीद दिवस- विभिन्न कार्यक्रम गरि मनाइदैं

राजनीति आइतवार माघ १६, २०७८

काठमाडौं ।आज माघ १६गत्ते सहिद दिवस, प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।

विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

तर नेपालको पहिलो सहिद भने लखन थापालाई लिइन्छ । आज दिवसका अवसरमा शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिने जनाइएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरीे सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुनसकेको बताउनुभएको छ । सहिद दिवसका अवसरमा आज शुभकामना दिदै प्रधानमन्त्री देउवाले २००७ सालको एकतन्त्रीय जहाँनिया राणाशासन विरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२/६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलन लगायत विभिन्न राजनीतिक परिवर्तन सहिदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको बताउनुभएको छ ।

यस्तै आज ६९औँ विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतवार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ । नेपालमा १२ वर्षअघि नै कुष्ठरोग निवारण भएको घोषणा भए पनि नयाँ बिरामी देखिने गरेका छन । सरकारी तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष तीन हजारभन्दा बढी कुष्ठरोगका नयाँ बिरामी थपिने गरेका छन् ।

Leave a Comment