“मेरी आमा” र “म आमा”

मुख्य खबर आइतवार माघ १६, २०७८

कोभिडको बेलामा एक हप्ता घरमा आराम गर्दा सधै अरुको बारेमा कति लेख्ने आज आफु र आफनो बाल्यकालको पानालाई केलाउन मन लागेर यो लेख तयार गर्देछु । कसैलाई यो लेख मनपर्न सक्ला , कसैले मन नपर्न सक्ला , कसैले आफनो जीवनमा मेल खाएको अनुभुति गर्ला, नगर्ला तर पनि आफ्नो आत्म सन्तुष्टी र मेरी आमाको सम्झनाको लागि मेरी आमा र म आमाबीचको अनुभुतिको भावना कोर्दे छु । आमाको लागि के लेख्नु आमाले आफै मलाई लेखेकी छिन् ।

आमा यो शव्द प्यारो नलाग्ने सायद कोहि छैन् , आमालाई विभिन्न नामले सम्वोधन गरिन्छ आफूलाई जन्म दिने स्त्री, जननी ; माता, जन्मदाता , ममताको खानी , महतारी , न्यानो काख , पहिलो गुरु , मदर , मम्मी, आमै, मुआ, आदि । जे जति नामले सम्वोधन गरे पनि आमाको काख अरुको लाख आमा त आमा नै हो । त्यसैले होला कविता हरुमा कविहरुले पनि धर्तिमा छ सवै चीच खोजे मिल्छ घरिघरि तर जन्म दिने आमा पाइदैन ।  कसैगरी भनि उल्लेख गरेको पाइन्छ (कृष्णप्रसाद भट्टराई कविताको शिर्षक आमा) । यसरी आमा भन्ने शव्द ज्यादै उच्च एवं गरिमामय तथा आदरणीय सम्मानिय छ । त्यसैले म आफु आमा भएकोमा म आफुलाई संसारकी सुखी मान्छेको रुपमा परिचित गर्न चाहान्छु । तर विडम्वना जुन देशमा म जन्मे हुर्के त्यही देशमा आमा हरुको अस्तीत्व , पहिचान र सम्मानको लागि प्रत्येक पल आमाहरु आफ्नो् अस्तीत्वको लागि पटक पटक आन्दोलन गर्नु परेको छ ।

नागरिकता , जन्मदर्ता र सन्तानको अंशको लागि बावु चाहिन्छ भन्ने सोच राखिएको छ  । विचरा फ्रान्सका राष्ट्रपति बाेनापार्टले भनेका थिए ”मलाई असल आमा देउ, म तिमीलाई असल राष्ट्र दिने छु । यहि भनाइबाट पनि बुझ्न सकिन्छ कि संसारमा आमाको महत्व र महिमा कति हुन्छ । जुन कुरा शब्दमा वयान गर्न सकिदैन ।  असल आमाबाटै असल नागरिक हुन्छन् , आमाको महिमा हरेक राष्ट्र र देशमा हुन्छ। तर म खोजि रहेको छु मेरो आफ्नै देशका आमा यो देशको नागरिक हो र ? मेरो देशले आमाको महिमालाई जानेको छ र ? आमालाई नागरिक मानेको छ र ? मलाई त भन्न मन लाग्छ हे निति निर्माण कर्ता हो तिमिलाई जन्माउँदा आमाको दर्दको महशुस गर्न तिमि संग सामथ्र्य छैन त्यसैले तिमि संग अनुराग गर्नुको कुनै औचित्य छैन् । अमेरिकामा सुश्री अन्ना मेरीले मे को दोस्रो हप्तामा आमाहरुको सम्झनामा मर्दस डे मनाउने परम्परा चलाए पछि हामीले पनि नेपालमा आमाको मुख हेर्ने भनि ! दीन मात्र आमाको महिमा गाएर आमाको लागि सवै गरेका छौ भन्ने प्रमाणीत हुँदैन् । त्यसैले धर्म ग्रन्थमा लेखिएको होला जननी जन्म भूमि स्व स्वार्गादपि गरियसी । जन्म दिने आमा र मातृभूमि स्वर्गभन्दा पनि ठुला छन् ।

मैले र मेरी आमाले पनि धर्तिमा पाइला राख्दा सायद आमा शव्द नै पहिला सुनेका हौ । बाबालाई त आमाले तिम्रो बाबा भनि चिनाएको हो ।  मैले पनि मेरो सन्तान जन्मेपछि तिम्रो बाबा भनि चिनाएको हो ।  यसमा सायद कसैको विमति छ जस्तो मलाई लाग्दैन् । मेरो आमा संगको बाल्यकाल कसरी वित्यो ?  म बुझ्ने भएपछि मेरी आमाले तिमिले सानोमा यस्तो भन्थ्यौ भनि सुनाएकोले थाहा पाएँकी हुँ । मेरी आमाले घर, भान्सा परिवार सवैको काम गर्दा कहिले काहीँ सन्तानलाई हेर्ने सम्म फुर्सद हुँदैन थियो रे ! बोराको डाडीमा बिहान स्तनपान गराएर छोडेको सन्तानलाई घरको सारा काम भ्याए पनि बच्चाको याद हुदैन थियो रे ! स्तनपान गराउन छाति दुख्न थाल पछि पो सन्तान याद आएकोले झसंग हुँदै सन्तानको खोजि गर्नुहुन्थयो रे !  यो सुन्दा मलाई अचम्म लाग्दथ्यो । त्यसैले होला कविताहरुमा ”आमा तिमि हदयकी खानी हौ ,धैर्यताकी प्रतिमुर्ति हौ, सहनशिलताको पनि तिमि खानी हौ ।  रोदनलाई लुकाएर हाँसोको पोको देखाउने पनि तिमै नै हौ । त्यसैले त सबैले भन्ने गरेको छन् । आमा तिमि महान छौ र मैले पनि भन्ने गरेको छु आमा मेरो पहिलो माया तिमि हो, तिमि बाहेक अरुलाई मेरो पहिलो माया भन्न सक्दिन् ।

म बुझ्ने भएपछि आमाले एक प्रसंग सुनाउनु भयो मेरी आमा संग मैले केहि मागेको थिए होला आमाले पुरा गर्न उहाँ संग पैसा थिएन होला अनि मैले मेरी आमालाई भनेछु छोरीको इच्छा पुरा गर्न नसक्नेले किन वच्चा जन्माएको त ? जन्माउने वितिकै मारि फालिँदिएको भए हुने । मेरी आमा निशव्द भई उनको निर्दाेष आँखाबाट आँसुका बलिन्द्र धारा बग्न थाले मेरी आमाको आँसुले सायद मलाई कुनै फरक परेन होला म पनि त ममता बुझ्ने उमेरको थिएन होला र आमाले मलाई भन्नुभयो- “ तिमि पनि भोलि आमा हुन्छौ यतिखेर म तिमि संग जवाफ खोज्ने छु अहिले तिमिले आमाको महत्व वुझेकी छैनौ ”। मेरी आमा म आमा भएको हेर्ने प्रतिक्षामा रहनु भएको अनुभति म आमा भएपछि मैले अनुभुत गरे । त्यसैले होला मेरि आमाले पनि पर्खेर बस सबै यो जुनीमै देख्न पाइन्छ भनि पर्खिएकी रहिछन् ।

मैले अवसर पाए सायद मेरी आमाले पनि अवसर पाएको भए केहि………… 

म र मेरी आमा त्यही समाजका सदस्य हौ जहाँ विवाह गरेपछि छोरीले घर गरेर खानु पर्दछ , परिवारलाई खुसी बनाउनु पर्दछ ।  संस्कारले भरिपूर्ण हुनुपर्दछ । पति इश्वर समान हुन्छन् , सेवा गर्नु पर्छ  । छोरीले घर व्यवहार राम्रोसंग निर्वाह नगरेमा माइतिको संस्कारमा प्रश्न उठ्छ यी सबै विषय मेरो आमा र मैले दुबैले सुनेका हौ ।  भोगेका हौ । यो कुनै नौलो विषय थिएन् । यो हामी सबै आमाहरुले भोगेको व्यथा हो । मेरी आमाले यि माथिका सबै कार्य गरेको मेरो मानसपटलमा ताजै छ । तर आमाले जस्तो सबै कार्य गर्न क्षमता म मा थिएन् । १८ वर्षको उमेरमा विवाह गर्दा मेरो मतिष्कमा विवाह गरेपछि घुम्न पाइन्छ ? सिनेमा हेर्ने जान पाइन्छ भन्ने मात्र थियो  । केटाकेटि मन त हो पाल्पा त्रिभुवन वहुमुखि क्याम्पसमा आइ.एल दोस्रो वर्षमा अध्ययनरत थिए । विवाह भयो परिवारको जिम्मेवारी, भान्साको जिम्मेवारी यो सब मलाई केहि थाहा थिएन ।  तर अगाडि त बढनु नै थियो ।  वैवाहिक जीवन अगाडि बढ्याे ।

विवाह पछिको वातावरण अलि फरक पाए । परिवारहरु सबै  सरकारी जागिरमा भएकोले होला भान्सा भन्दा पनि जागिर खानु पर्छ ।  काम भान्सामा होइन अफिसको टेवुलमा गर्नुपर्छ । चुलो चौका गरेर पनि मानिसले अफिसमा काम गरेका छन् , सन्तानलाई कोखमा च्यापेर पनि पढेका छन् भन्ने उत्प्रेरक शव्दको अर्ति पाएकोले जीवन सहज हुन्छ होला भनि अनुमान गरे । वैवाहिक जीवन , सन्तान, पढाई, राजनैतिक यात्रा सबै अगाडि बढ्यो अवरोध कहि भएन् । ठुलो छोरा सुशान्त बस्याल ३ महिनाको हुँदा कानून व्यवसायी महिलाको लागि सुस भन्ने सस्थाले मंगलापुर रुपन्देहिमा तालिम दिएको ६/ सात दिनको भनि सुचना पाउँदा श्रीमानले म छोरा हेर्छु तिमि तालिममा जानु पर्दछ भन्दा मैले इन्कार गरे ।  ३ महिनाको बालक , आमाको स्तानपान गर्नुपर्छ हुँदैन म सन्तानलाई छोडेर जान्न भन्दा श्रीमानको अगाडि मेरो केहि लागेन म तालिम तर्फ लागे । तीन महिनाको सन्तानको माया र स्तानपानको छुटै पिडामा रहँदा मेरा मित्र शान्ति न्यौपाने (हाल ललितपुर सरकारी वकिल) र शर्मिला गौतमले ठुलो साथ र सहयोग गरेको मेरो हदयमा छ त्यस दिनलाई मैले भुलेको छैन् ।

त्रिभुवन बहुमुखी क्यापस पाल्पाको स्वतन्त्र विधार्थि युनियनको उपाध्यक्षमा चुनाव जितेपछि सानो छोरालाई काखमा छोरा राखि विधार्थीको काम मैले सुत्केरी भएको १५ औ दिनमा गरेको छु । त्यसबेला मलाई ठुलो सहयोग गर्ने पाल्पाकी अधिवक्ता माधवी पाण्डे र अधिवक्ता गिता शर्माको साथ र सहयोगलाई पनि हृदयमा राखेको छु । त्यसैले मेरो जीवनमा यि साथीहरुको अस्मरणीय छाप रहेको छ । यसै प्रसंगलाई जोड्दा म र मेरी आमामा रहेको असमानता भनेको सायद मेरी आमाले पनि मैले जस्तो पढ्ने अवसर पाएको भए , पारिवारिक वातावरण सहज भएको भए आमाले पनि धेरै गर्न सक्नुहुन्थ्यो होला  । तर पनि मेरो आमा मेरो लागि महान छिन मेरो आमाको न्यायो हातले स्पर्स गरेको मेरो शिरलाई ठाडो राख्नेछु  । मेरो सन्तान जन्मेपछि आमाले मलाई सोध्नुभयो छोरा छोरीको माया कति लाग्दो रहेछ ।  तिमि पनि त अहिले एउटी आमा हौ  । मैले थाहा पाएँ ।  आमालाई मैले सानोमा दिएको जवाफ मेरी आमाले खोज्नु भयो त्यतिखेरको अनुहारमा भने मेरो आमाको फरक अनुभुति पाए मेरो नजर त आमाको अगाडि झुकेको थियो ।  म आफै निशव्द भएँ । सन्तानको माया आमालाई कति हुँदो रहेछ भन्नको लागि म आमा भएपछि थाहा पाएँ । आमा मलाई माफ गर हिजो बाल्यकालमा तिम्रो महिमा बुझ्न सकिन् तर आज बुझेको छु । दुर्भाग्य बुझेर के गर्नु तिमि मेरो साथ छैनौ । हार्दिक श्रद्धासुमनका दुई शव्द मात्र अर्पण गरेको छु ।

मेरी आमा र म आमामा फरक
मेरो बुबाले हामीलाई स्याहार सुसार गरेको थाहा छैन् ।  आमाले नै सबै गर्नु भयो तर मेरो सन्तानलाई मैले भन्दा मेरो श्रीमानले धरै समय, हेरचाह, संरक्षण , खाना खुवाउने, लुगा लगाइदिने सबै  थोक गर्नु भयो । कामको शिलशिलामा धेरै पटक सन्तानहरुलाई छोडदै म हिडनु प¥यो । मैले त सन्तान जन्माए मात्र , स्तानपान गराए धेरै त मेरो श्रीमानले नै आमाको भुमिका निर्वाह गर्नुभयो । मलाई सधै मेरो मनमा असहज भएको विषय भनेको अरुका सन्तानले पहिला आमा भन्छन तर मेरो सन्तानले पहिला बाबा भन्छन् अनि आमा भन्छन् । प्रकृतिको नियम नै हो जो बढी नजिक हुन्छ ।  उसै संग सामिप्यता हुन्छ तर पनि आमाको मन हो म स्वार्थी बन्न खोजेको होइन ।  महिलालाई करियर र परिवार दुवैलाई संगै लग्न गाह्रो चाहि पक्कै छ । तर मेरो समाज जहाँ हामी रमाउछौ । सुख दुखमा छिमेकी संग साथ र सहयोग खोजेका हुन्छौ । तर त्यहि समाज भने मलाई चित्त नबुझेको अरुको चियो चर्चामा समय खेर फाल्ने, धन्नका श्रीमान रहेछन् नत्र भने समाजको कुरा सुन्ने हो भने त हाम्रो वैवाहिक दाम्पत्य जीवन सुखद हुने थिएन् । दिनभरि अफिसमा काम गरेर घर फकिदा घरकालाई भन्दा छिमेकीलाई चासो , कम्मरमा हात राख्ोर छडके प्रश्न गर्ने , डुलेर आइयो ? कति सजिलो हो बुढाले सबै गरिदिने हाम्रो त सबैआफैले गर्नु पर्छ , श्रीमतिलाई कति छुट दिएको नाना थरि ….त्यसैले भन्दछु समाजको कुरा सुन्ने हो भने पागल खाना गए हुन्छ आफनो भविष्य आफ्नै मनले निर्णय गर्ने हो । अवरोधको पर्खाल आफैले ढलाएर हिडने हो । नत्र त के बाँच्न दिन्छन् ।

मेरि आमालाई भन्दा म आमालाई धेरै दुख छ
मेरी आमाले मबाट कति सुख पाइन थाहा पाउन सकिन ।  हिजो म संग केहि थिएन आमाको लागि केहि गर्न सकिन ।  तर आज म संग पैसा, जोस , जाँगर, गाडी, घर सबै थोक छ तर आमा हुनुहुन्न ।  कति रोदन र आत्मा भावुक हुन्छ ।  आज आमा भएको भए आमालाई सबै खुसी दिन्थे तर खोजेर कहाँ पाउनु मात्र सम्झना र अतितका यादहरु । मेरो सन्तानबाट आफुले प्राप्त गरेको सुख भनेको सन्तानलाई आत्मनिर्भर बनाउन सिकाएको रहेछु । आज छोराहरु भए पनि भान्सा देखि घरको सबै काम गर्न सिपालु छन् ।  खाना पकाउन आमालाई कुर्देनन् , लुगा धुन , कुचो लगाउन आमालाई पर्खेदैन् ।  तरकारी किन्न, समान किन्न आमाको आस गर्देनन् यि सवै देख्दा मेरी आमा र म मा यहि फरक पाए।  आज मेरी आमालाई मैले भन्नै पर्छ आमा त्यति भएर पनि मलाई दुख छ आमा , हजुरले हिजो असमानता , विभेद , हिंसा सहनु भयो मैले सहिन होला । हिजो हजुरले घरको मात्र काम गर्नुहन्थ्यो।  घरको ताजा तरकारी र भोजन गनुहुन्थ्यो, घरमा काम धेरै भएकोले शारिरिक व्याम भई स्वास्थ्य पनि हुनुहुन्थ्यो तर म आमा आज घर, परिवार, अफिस, राजनिति, कलेज, इष्टमित्र, धार्मिक , सास्कृतिक कार्य सवै धानेकी छु , कामको प्रेसर र टेवुलमा वसाईको कारण शारिरिक व्यायमको अभावको कारण र अहिलेको विषदी र समयमा भोजन नगर्दा शरिरमा थुपै रोगहरुले वास गरेका छन् । जे जोस आमा हिजो हजुरको व्यथा कथा अर्को थियो । स्वतन्त्रता थिएन तर आज सबै कुरा म संग भए पनि आजमा हामी आमाहरुको व्यथा, कथा, फरक स्वरुपमा आएको छ । हिजो हजुरलाई परिवारको चुनौति मात्र थियो आज हामीलाई समाज वाहिर, कार्यक्षेत्रको चुनौति, अधिकार र पहिचानको चुनौति जुन हिजो हजुरहरुले कहिले माग गर्नु भएन् आज म आमाले यो सबै माग गर्दा हामीलाई धेरै दुख छ ।
म आमाले आफ्नो जीवनमा पाएको सार्थकता  मेरो कान्छो छोरा डा.प्रशान्त वस्यालले आमाको महत्व आफु डा. भएपछि प्रस्तुती वाडमा एउटी आमाले वच्चा जन्माउँदा पाएको पीडा, रोदन , चियाहाटले आमाको महत्व बुझे छ । विहान करिव ८ बजेतिर मोवाइलमा फोन गरयो मलिन स्वरले मम्मी सरि है भन्दा मेरो मन आतियो । किन वावु के भयो भन्दा मैले हजुरलाई बाल्यकालमा कति दुख दिए होला  ? मलाई माफ गरिदिनु । मलाई जन्म दिएकोमा हजुरलाई धन्यवाद । जीवनमा म हजुर संग अब रिसाउदिन, हजुरको सेवा गर्ने छु । छोराको यस बाेलीले मलाई आमा भएकोमा गर्व महसुस भयो । साँचै लाग्यो सवै सन्तानलाई (छोरा) डा. बनाएमा आमाको भावनाको सम्मान हुन्छ होला है ।

जेठो छोरा सुसान्त बस्यालले अष्ट्रेलिया आइ.टी पढन गएको केहि समयपछि मम्मी हजुरले हिजो मलाई आत्मनिर्भर बनाउनु भएकोमा धन्यवाद । मैले यहाँ आए पछि लुगा धुने, खाना पकाउने सबै काम नेपालमै जानेकोले केहि दुख भएन ।  मेरो साथीहरुले चिया पकाउदा हात पोलेको छ तर मैले नेपालमा बस्दा घरको सबै काम गरेकोले दुख भएन । मेरो कति साथिहरुले त ग्यास बाल्न पनि जानेका रहेनछन् भन्दा हिजो छोरालाई सिकाएको कामले उसको जीवनमा कुनै बाधा भएन । हिजो जे गरे ठिकै गरेको रहेछु भन्ने महसुस भएको छ । बास्तवमा मैले पाल्पा छोडनुको कारण दुई पटक मेरो कान्छो छोरा हराएको थियो , सानो ठाउँ भएकोले फेला पार्न सकियो म विहान काममा जाने छिमेकीका छोडेको छोरा आमा खोज्दै हिडेछ त्यस पछि सन्तानको भविष्यको लागि काठमाडौ आउनु प¥यो । छोराहरुले पहिला वुवा भनि बाेलाउँदा मेरो मन केहि दुविधा उत्पन्न भएको पक्कै हो मन अहिले सन्तानले आमाको योग्दानको कदर गर्दा पक्कै पनि मेरि आमा र म आमाले सकुन मानेको छ । दुख यस अर्थमा मात्र छ कि आज म संग सवै थोक भएर पनि आमा हुनुहुन्न ।
जिन्दगी बन्छ आमाले खुवाएको गाँसगाँसमा ,
सृजना मूल हुन आमा सृष्टिको इतिहासमा
सुनौला अक्षरहरुले सधै तिम्रो नाम जानकी लेख्न पाउँ
सधै भरि मन मतिष्कमा तिम्रो नाउँ राख्न पाउँ ।

विष्णु बस्याल -अधिवक्ता एवम् नेपाल ल क्याम्पस उपप्राध्यापक हुनुहुन्छ । विद्यावारिधी गरिरहनु भएकी बस्याल पारिवारीक कानूनका ज्ञाताका रुपमा समेत परिचित हुनुहुन्छ ।

Leave a Comment