काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ३५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । आज (शुक्रबार) बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ३५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो ।
केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि सभापति देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन् । कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी र वरिष्ठताका आधारमा केन्द्रीय सदस्यहरु रहेका छन् ।
कार्यसम्पादन समितिमा सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा सहमहामन्त्रीहरु फरमुलाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार पदेन सदस्य रहने छन् ।
यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापतिहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजय गच्छदार र प्रकाशमान सिंह सम्पादन समिति सदस्य बनेका छन् ।
यस्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, शशांक कोइराला, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु रामशरण महत, अजुर्ननरसिंह केसी, प्रकाशशरण महत र सुनिलबहादुर थापा पनि कार्यसम्पादन समिति सदस्यमा समेटिएका छन् ।
केन्द्रीय सदस्यहरूबाट शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, जीप छिरिङ लामा, पद्मनारायण चौधरी, उमा रेग्मी , एनपी साउद, सुजाता कोइराला, आनन्द ढुंगाना र जीवनबहादुर शाही कार्यसम्पादन समिति भएका छन् ।