काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच त्रिपक्षीय भेटवार्ता सम्पन्न भएको छ ।
आगामी निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका प्रमुख दुई दलका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको हो ।आजको छलफलपछि निर्वाचनबारे थप निर्णयका लागि सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक बोलाउने सहमति भएको छ । पाँच दलीय गठबन्धनको बैठक भोलि बस्ने छ ।
आजको भेटमा स्थानीय तहको निर्वाचन, ऐन संशोधनलगायत विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री देउवाले हिजो साँझ मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग औपचारिक भेटवार्ता गर्नुभएको थियो ।
सत्ता गठबन्धनबीच स्थानीय तहको निर्वाचन केही पछि धकेल्ने विषयमा बहस हुँदै आएको छ । तर निर्वाचन कानून र संवैधानिक व्यवस्थाविपरीत चुनाव सार्न खोजिएको भन्दै सरकार र पाँच दलीय गठबन्धनको आलोचना हुँदै आएको छ ।