स्थानीय निर्वाचनका विषयमा कांग्रेस भित्र नै व्यापक असन्तुष्टि

मुख्य खबर बिहिबार माघ १३, २०७८

काठमाडौं । आगामी वर्ष हुने निर्वाचन र गठबन्धनसँगको सहकार्यका बिषयमा नेपाली कांग्रेस भित्र असन्तुष्टि चर्कँदै गएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले सत्ता साझेदार दलहरुसँगको परामर्शमा स्थानीय तह निर्वाचनलाई पछाडि सार्ने तयारी गरेपछि अर्को पक्षले आपत्ति जनाएको छ ।

आगामी वैशाखमा पदावधि सकिने स्थानीय तहको चुनाव पर सार्न सत्ता गठबन्धनले संविधान बमोजिम ऐन संशोधनको तयारी थालेपछि कांग्रेसभित्र विवाद बढ्दै गएको छ । प्रधानमन्त्री देउवाले पार्टीमा छलफल नै नगरी अरुको स्वार्थ पुरा गर्न निर्वाचनको मिति सार्न खोजेको भन्दै शेखर कोइराला पक्षले विरोध गरेको हो । स्थानीय चुनाव वैशाखमै हुनुपर्ने र तीनै तहका चुनावमा एक्लै लड्नुपर्ने माग कांग्रेसभित्र बढ्दो देखिन्छ । नेता रामशरण महतले कांग्रेस चुनावमा एक्लै जानुपर्ने र पछि परिस्थिति अनु्सार सरकार गठनको समिकरण बनाउनुपर्नेमा धेरै नेता देखिएको बताउनुभयो ।

संस्थापन पक्षमा भने अहिलेको गठबन्धन जोगाउन नसकेमा सत्ता गुम्ने र बाहिर परिने डर देखिन्छ । सत्ता स्वार्थले भन्दा पनि संवैधानिक व्यवस्था अनुसार चुनावी ऐन संसोधन गर्न खोजिएको कांग्रेस संस्थापनको जिकिर छ । झण्डै डेढ महिना अगाडि महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको कांग्रेसमा तीनवटै तहका चुनावमा सत्तारुढ दलहरुसँग मिलेर जाने कि एक्लै लड्ने भन्नेमा मतभेद छ । वैशाखमा हुनुपर्ने स्थानीय तहको निर्वाचनको विषयले पार्टीभित्र गुटगत किचलो झन बढ्ने देखिन्छ ।

Leave a Comment