दक्षिण एसियामा कोरोना विरुद्धको खोप लगाउने मुलुकमा नेपाल अग्रस्थानमा

मुख्य खबर बिहिबार माघ १३, २०७८

काठमाडौं । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने देशमा नेपाल पनि परेको छ ।

आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ ।

६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको सरकारले जानकारी दिएको छ । कोभिडविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत प्रदान गरेका १३ लाख मात्रा खोप हिजो नेपाल आइपुगेको छ । आजदेखि त्यो खोपलाई ब्यवस्थित गरेर जिल्ला जिल्लामा पठाइनेछ । फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेज नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेको छ ।

खोप बुझ्दै मन्त्री खतिवडाले आवश्यकताको यो घडीमा फ्रान्स र इटालीले १३ लाख खोप सहयोग गरेकामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट कृतज्ञता ज्ञापन गर्दै यो सहयोग नेपाल र युरोपेली सङ्घका सदस्य राष्ट्रहरूबीचको मैत्रीको उदाहरण रहेको बताउनुभयो ।

 

फ्रान्सले छ लाख ८५ हजार ४०० र इटालीले छ लाख ६३ हजार ६०० मात्रा खोप हस्तान्तरण गरेका हुन्। यसअघि जर्मनीले पठाएको ४१ लाख मात्रा खोपमा थपिएर यो इयू सदस्य राष्ट्रहरूले उपलब्ध गराएको खोपको सङ्ख्या ५४ लाख पुगेको छ।

Leave a Comment