काठमाडौं । नेकपा एमालेले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो आधिकारीक धारणा सार्वजनिक गर्दैछ । स्थानीय तह, प्रतिनिधि सभाको चुनावलगायत समसामयिक राजनीतिक घटनाक्रमका बारेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज धारणा सार्वजनिक गर्न लागेको हो ।
यसका लागि आज दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने भनिएको धारणा अध्यक्ष ओलीले वक्तव्य मार्फत जानकारी दिने एमालेले जनाएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीलेसमग्र विषयमा पार्टीको धारणा राख्ने बताइएको थियो । तर, पछिल्लो समयमा देखिएको उच्च संक्रमणदर र स्वास्थ्य सुरक्षा मापदण्डलाई ध्यान दिँदै वक्तव्यमार्फत अध्यक्ष ओलीले पार्टीको धारणा जनतामा लैजाने एमाले उपमहासचिव प्रदीप ज्ञावलीले नेपाल प्रेसलाई बताए ।
र चुनावका बारेमा सत्ताधारी दलबीच भइरहेका छलफल र एमालेलाई लगाइएका विभिन्न आरोपका बारेमा पनि अध्यक्ष ओलीले विचार राख्ने तयारी गरेका छन् ।
सत्ताधारी दलहरूबीच पहिले स्थानीय तह वा प्रतिनिधि सभा कुन चुनाव गर्ने भन्ने बारेमा सहमति भइसकेको छैन । एमालेले भने स्वार्थपूर्ण ढङ्गले चुनावको मिति पछाडी धकेल्न खोजिएको आरोप लगाउँदै आएको छ ।