काठमाडौं । कोरोना संक्रमणदर नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजबाट नयाँ प्रावधान लागु हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको हिजोको बैठकले नयाँ प्रावधान ल्याएको हो । वैठकले माघ मसान्तसम्म आमसभा, भेला, जुलुस गर्न नपाइने निर्णय गरेको छ ।
गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट मात्रै गर्न गर्न पाउने जनाइएको छ । भौतिक रूपमा उपस्थित गराउनु परेमा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जना हुने गरी माघ ७ गतेपछि खोपको पूरा मात्रा लगाएका व्यक्तिहरूलाई मात्रै उपस्थित हुने गरी गराउन पाइनेछ । सार्वजनिक सवारीसाधनमा स्वास्थ्य प्रोटोकलमा कडाइ गरिएको छ । मास्क नलगाउने यात्रुलाई सहचालकले कम्तीमा पाँच रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने प्रावधानमा उल्लेख छ ।
सर्वाेच्च अदातल
कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सर्वोच्च अदालतले आजदेखि सेवा कटौती गरेको छ । हिजो बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले आजदेखि लागू हुने गरी यही माघ १८ गतेसम्मका लागि सेवा कटौती गर्ने निर्णय गरेको हो । अब बन्दीप्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमितरूपमा सुनुवाइ हुनेछ । सर्वोच्च अदालतका अनुसार यस अवधिमा मुद्दा फिर्ता, तामेली एवन् मिलापत्रसम्बन्धी कामकारबाही नियमितरूपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदनमाथि सुनुवाइ हुनेछ । उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरणको हकमा स्थानीय परिस्थिति एवन् जोखिमको अवस्था तथा सङ्क्रमित भएको अवस्थासमेतको मूल्याङ्कनका आधारमा कामकारबाही गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।
सार्वजनिक स्थानमा जाँदा अनिवार्य खोपकार्ड
सरकारले सार्वजनिक स्थानमा जाँदा अनिवार्य खोपकार्ड बोक्ने निर्णय गरेसँगै खोप कार्ड हराएकाहरुलाई स्वास्थ्य मन्त्रालयले प्रतिलिपि उपलब्ध गराउने भएको छ । मन्त्रालयका अनुसार तीन तरिकाबाट हराएको खोप कार्ड लिन सकिन्छ । दुवै मात्रा खोप लगाइसकेका भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ भने, जोन्सन एण्ड जोन्सन खोप लगाएको भए त्यही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि दिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै तेस्रो पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ । सरकारले आउँदो ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । यस्तै बुस्टर डोजको लागि पनि खोप कार्ड अनिवार्य नै चाहिन्छ ।
धार्मिक कार्यक्रम पनि संकुचन
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि आजदेखि लागू हुनेगरी धार्मिक कार्यक्रम पनि संकुचन गरिएको छ ।काठमाडौँ उपत्यकामा रहेका तीन वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आजदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र खुला रहने छ । पशुपति क्षेत्र विकास कोषले गएराति १२ बजेदेखि लागू हुनेगरी पशुपतिनाथ, गुह्वेश्वरी लगायत पशुपति क्षेत्रका मठमन्दिरमा परम्परागत नित्य पूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको जानकारी दिएको छ। यस्तै संक्रमण जोखिम बढेसँगै गोरखाको मनकामना मन्दिरमा नित्य पूजामात्र हुने भएको छ । मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजनलाई प्रवेशमा रोक लगाइने भएको हो । देशभर तेस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो । संक्रमण जोखिम बढेपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिनुभयो ।