काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो प्रतिवेदनमा सबै सुझाव समेट्ने प्रतिबद्धता जनाउनुभएको छ । माओवादीको आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवन कमलादीमा जारी बन्दसत्रमा समूहका नेताले उठाएका प्रश्नको जवाफ दिने क्रममा दाहालले आफूले पेस गरेको प्रतिवेदन सबैको साझा भन्दै सबै सुझावहरु समेटिने बताउनुभएको हो ।
अध्यक्ष दाहालले बन्दसत्रको पहिलो दिन गएको सोमबार ’२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गर्नुभएको थियो । प्रतिवेदनमाथि छलफल गर्न २५ समूहमा विभाजन गरिएको थियो । आफ्नो पार्टीको महाधिवेशनले सिंगो देशकै ध्यान आकर्षित गरेको भन्दै दाहालले त्यो उद्घाटन सत्रमै पुष्टि भएको उल्लेख गर्नुभयो । सुझाव पेस गर्ने क्रममा नेताहरुले पार्टी पछाडि हट्न लागेको हो किन भन्ने चिन्तालाई आफूले सकारात्मक रुपमा लिएको बताउनुभयो ।
दिउँसो १ बजेबाट सुरू भएको बन्दसत्रमा निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन पारित भएपछि अध्यक्ष प्रचण्डले समूहगत छलफलबाट उठेका प्रश्नमाथि जवाफ दिन सुरु गर्नुभएको हो ।