काठमाडौं । राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन सुरक्षा योजना पेस गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समिति बैठकले निर्वाचन सुरक्षा रणनीति र योजना तयार पार्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको हो ।
निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सदस्यका लागि आगामी माघ १२ गतेका लागि निर्वाचन मिति घोषणा गरेको छ । ५ वर्षे कार्यकाल सकिन लागेपछि आगामी २०७९ वैशाख १४ गतेका लागि स्थानीय तहको निर्वाचन गर्न आयोगले सरकारसमक्ष प्रस्ताव गरेको छ । दुवै निर्वाचन नजिकिएसँगै गृह मन्त्रालय सुरक्षा व्यवस्थापनसम्बन्धी आन्तरिक छलफलमा जुटेको हो । गृहले राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनका लागि छुट्टाछुट्टै सुरक्षा कार्ययोजना बनाएर पेश गर्न भनेको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन सुरक्षा व्यवस्थापन गर्ने विषयमा सुरक्षा बैठक केन्द्रीत भएको र त्यस क्रममा स्थानीय तहको निर्वाचन सुरक्षाबारे पनि समीक्षा भएको बताए ।