काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महामन्त्री कुन्ती शाहीले अब विचारतिर नभई राष्ट्रियता बलियो बनाउनमा केन्द्रित बन्न दलहरूलाई आग्रह गरेकी छन् ।
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन सत्रमा बोल्दै महामन्त्री शाहीले दलहरुको बीचमा विचार फरक–फरक भए पनि मुलुकको विकास र राष्ट्रियताको विषयमा सबै दलहरू एक ठाउँमा आउनुपर्ने बताएकी हुन् ।
अब देशमा बलियो अर्थतन्त्र र राष्ट्रियता भएको देश बनाउनेमा केन्द्रित बन्नुपर्नेमा जोड दिइन् । ‘म यहाँ मञ्चमा बस्नुभएका नेताहरूभन्दा फरक विचार राख्ने दलको प्रतिनिधित्व गर्छु, तर तपाईं र हाम्रो विचार फरक छ, अझ विशेष गरेर माओवादी केन्द्रको विचारसँग हाम्रो वैचारिक भिन्नता छन्,’ उनले भनिन्, ‘तर हामी यो देशको विकासका लागि यही भूमिमा जन्मिएका दलहरू हौं, त्यसैले अब विचारतिर होइन, राष्ट्रियता बलियो बनाउनमा केन्द्रित बनौं, बलियो अर्थतन्त्र भएको देश बनाउनमा केन्द्रित बनौं ।’