राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल समाप्त

मुख्य खबर शुक्रबार पुस ९, २०७८

काठमाडौं । भूकम्पले भत्किएका भौतिक संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनाको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल सकिएको छ ।

आजदेखि प्राधिकरणको ६ वर्षे कार्यकाल पूरा भएको हो । पुनर्निर्माण तथा पुनर्स्थापनाका बाँकी रहेका काम हस्तान्तरणसहित प्राधिकरण बिदा भएको छ । भूकम्पपछि २०७२ साल पुस १० गते प्राधिकरण स्थापना भएको थियो ।

प्राधिकरणको संस्थागत व्यवस्था भोलिदेखि रहने छैन । प्राधिकरणका अनुसार अहिलेसम्म निजी आवासमा ९२ प्रतिशत, पुरातात्त्विक सम्पदा तथा शैक्षिक संस्था ८५ प्रतिशत, स्वास्थ्य संस्था ८०, एकीकृत बस्ती ६० प्रतिशत सम्पन्न भएको छ । भूकम्पबाट झन्डै ८ लाख घर पूर्ण तथा आंशिक रुपमा क्षति भएकोमा तेश्रो किस्ता रकम वितरणका आधारमा ७ लाख ३ हजार ३ सय ७ घर पुनर्निर्माण भएका छन् ।

त्यस्तै विद्यालय भवनतर्फ ७ हजार ५ सय ५३ मध्ये ६ हजार ६ सय ४७ विद्यालय पुनर्निर्माण सम्पन्न भएको छ । बाँकी विद्यालय भवन पुनर्निर्माणकै चरणमा छन् ।

Leave a Comment