काठमाडौं । नेपाल प्रहरीका ३ सय ६७ जना सहायक निरीक्षक (असई) नायब निरीक्षक (सई)मा बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेहरु २०७१ जेठ ८ मा सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका कनिष्ठ अधिकारीहरु रहेका छन्। यस्तै नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहतर्फ दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ। नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहमा एसएसपीद्वय डा सञ्जयविक्रम श्रेष्ठ र डा गोपेशकुमार ठाकुरलाई डिआइजी पदमा बढुवा गर्न सिफारिस गरेको हो।
डा. श्रेष्ठ र ठाकुरलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले बताए ।