प्रतिनिधिसभाको बैठक पुस १८ गतेसम्म स्थगित

मुख्य खबर बुधबार पुस ७, २०७८

काठमाडौं । नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधि सभाको आज बुधवारको बैठकमा प्रस्तुत गरिएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ बहुमतले स्वीकृत भएको हो ।

रेल्वे अध्यादेश २०७८ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रणुकुमारी यादवले स्विकृतिका लागि निर्णयार्थ पेस गरेका हुज भने अरू तीन वटा अध्यादेश गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका थिए ।

 बैठक पुस १८ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक पुस १८ गतेसम्मका लागि स्थगित भएको छ। पुस १८ गते आइतबार दिनको १ बजे आगामी बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताए।

सभामुख सापकोटाले बैठक ११ दिन पर राखेपछि संसद्‌मा विचाराधीन अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) तत्काल संसद्‌मा पेश नहुने भएको छ। एमसिसी संसद्‌मा पेश गर्ने चर्चाले संसद्‌देखि सडकसम्म चर्चामा रहे पनि अब केही पर सर्ने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‌मा एमसिसी पेश गर्न खोजे पनि सत्ता गठबन्धनमै सहमति बन्न नसक्दा असफल बन्यो। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहेक सबै दल यथास्थितिमा एमसिसी अगाडि बढाउन नहुने पक्षमा छन्।

पाँच दलीय सत्ता गठबन्धनमै सहमति बन्न नसकेपछि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल बनाएको छ।

यसअघि साविक नेकपाले पनि खनालकै नेतृत्वमा कार्यदल बनाएको थियो तर सो कार्यदलको प्रतिवेदन कार्यान्वयनमै आएन। संसद्‌मा एमसिसी पेश गर्न सभामुख सापकोटाको महत्त्वपूर्ण हात हुन्छ।

सापकोटा तत्कालै एमसिसी अगाडि बढाउने पक्षमा छैनन्। सभामुख र गठबन्धनमै सहमति जुटाउन नसक्दा देउवालाई एमसिसी अगाडि बढाउन चुनौती बनेको छ।

 

Leave a Comment