काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–६ मा शनिबार राती दुई समूहबीच सामान्य विवादमा छुरा हानाहान हुँदा एकजनाको मृत्यु भएको छ। अर्का एक गम्भीर घाइते छन् ।
छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ डोहटियाका अन्दाजी २१ वर्षीय रामकुमार सदायको मृत्यु भएको हो । छातीमा छुरा लागेका उनलाई उपचारका लागि धनगढीस्थित आरके मेडिसिटी अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक सदायकै समूहका १९ वर्षीय रितेश सदाय गम्भीर घाइते भएका छन् । उनको आरके मेडिसिटी अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले जानकारी गराए ।
दुई पक्षका ६र७ जनाबीच झडप भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरुले जाँडरक्सी खाएर यत्तिक्कै झगडा गरेका हुन सक्ने प्रहरीले जनाएको छ ।
यसैबीच दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयले पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्ड आज बिहान केहीबेर अवरोध गरेका थिए । अहिले भने सामान्य रुपमै गाडी चलिरहेका छन् ।