ज्ञानेन्द्र शाह र प्रचण्डको सहमतिमा माघ १९ को घटना भएको ओलीको दाबी

मुख्य खबर बुधबार मंसिर २९, २०७८

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएर माघ १९ को घटना भएको दाबी गरेका छन ।

बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई सपथ गराउने कार्यक्रममा अध्यक्ष ओलीले दाहाल र ज्ञानेन्द्र शाह बीचमा सहमति भएर त्यो उपद्रो भएको दाबी गरे । ओलीले दाहालसँगको सहमतिपछि ज्ञानेन्द्रले माओवादीको बिनाकुनै अवरोध अभिनन्दन कार्यक्रम गर्न पाएको पनि बताए ।

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्थिरताका सम्वाहकको संज्ञा पनि दिए । ओलीले मुलुकलाई अस्थिर बनाउन खोज्ने शक्तिहरु सक्रिय रहेको र त्यसका सम्वाहक दाहाल र नेपाल रहेको आरोप लगाए ।

अध्यक्ष ओलीले सेयर बजार बारेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि दिएको अभिव्यक्तिप्रति पनि कटाक्ष गरे । उनले चन्दा नदिएकाले दाहालले शेयर कारोबारीमाथि रिस पोखेको बताए । उनले सेयर बजारबारेमा आफूहरुले त्यस्तो बोलेको भए सडकमा आगो बलिसक्ने अनुमान पनि गरे ।

१०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकले ४४ जना केन्द्रीय सदस्य मनोनीत गरेको थियो । मंसीर २५ र २६ गते बसेको एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्णबैठकले उनीहरूलाई केन्द्रीय कमिटी बैठकमा मनोनीत गरेको थियो ।

Leave a Comment