प्रधानमन्त्री देउवाले गरे मतदान

राजनीति सोमवार मंसिर २७, २०७८

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापतिका प्रत्यासित शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान गरेका छन् । सभापतिका प्रत्यासी उनले राष्ट्रिय सभागृहमा मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

केहीबेर अघि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंहले पनि मतदान गरिसकेका छन भने अन्य प्रत्यासी डा शेखर कोइराला र विमलेन्द्र निधि पनि मतदानस्थलमै रहेका छन् ।

यसैगरी उपाध्यक्षका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा रामशरण महत, सुनील थापा, गृहमन्त्री बालकृष्ण खाँड, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले पनि मतदान गरिसकेका छन। मतदानका लागि प्रतिनिधि लामबद्ध रहेका छन् ।

एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभागृह, भृकुटीमण्डप प्राङ्गण र भृकुटीमण्डपको हलमा गरी सयौँ बुथ राखिएको छ । भृकुटीमण्डपका दुई ठाउँमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिय सभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।

अहिलेसम्म तीनवटै मतदान केन्द्रबाट करिब २०० जनाले मतदान गरिसक्नुभएको निर्वाचन समितिले जनाएको छ । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।

Leave a Comment