काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ६० जनाले उम्मेदवारी फिर्ता लिएका छन ।
उम्मेदवारी मनोनयन फिर्ताको समय भित्रमा एक सभापति, एक जना सहमहामन्त्री र ५८ जना केन्द्रीय सदस्यको उम्मेदवारले मनोनयन फिर्ता लिएको हो । शनिबार १३४ पदका लागि ५४८ जनाले उम्मेदवारी दर्ता गराएका थिए।
पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएकोमा दुई घण्टा थप गरेर दिउँसो १ बजेसम्म कायम गरिएको थियो ।
केन्द्रीय सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिनु भएको हो । यस्तै, सहमहामन्त्री (थारु कोटा) तर्फका उम्मेदवार सुरेन्द्र चौधरीले पनि उम्मेदवारी फिर्ता लिएका हुन । अरु उम्मेदवारको नाम केही बेरमा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै गरिनेछ भने मतदान भोलि मंसिर २७ गते बिहान ८ बजेदेखि हुनेछ ।