काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ६ जनाले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । ६ जनामध्ये चार जनाले प्यानलसहित उम्मेदवारी दिएका हुन भने दुई जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंहले प्यानलसहित उम्मेदवारी दिएका हुन भने कल्याण गुरुङ र युवराज न्यौपानेले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी उपसभापतिमा दिव्यश्वरी शाह, महामन्त्रीमा डा. प्रकाशरण महत, डा राजाराम कार्की र प्रदीप पौडेलले पनि मनोनयन दर्ता गराएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि नेपाली कांग्रेसका नेताहरु डा. मीनेन्द्र रिजाल, गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, सुरेन्द्र चौधरी र देवराज चालिसेले उम्मेदवारी दर्ता गराएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय सदस्य, खुलाका लागि नेपाली कांग्रेसका नेताहरु बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकले उम्मेदवारी दर्ता गराएका छन् ।