काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर समूहलाई साझा सभापतिको उम्मेद्वार छनौट गर्न हम्मे हम्मे भएको छ । सभापतिका आकांक्षीहरुले आफ्नो अडान नछाड्ने देखिएपछि आज वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका केन्द्रीय सदस्यहरूको भेलाले पौडेललाई नै सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहीबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको भेलाले वरिष्ठ नेता पौडेललाई आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने कुरामा सहमति जुटाएको हो ।
पार्टी र सत्ताको केन्द्रमा रहेका शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिहरूको अंकगणितमा समेत बलियो बनेपछि संस्थापनइतरलाई साझा उम्मेदवार बनाउन दबाब बढेको छ । शीर्ष नेताहरूबीच सहमति नभएमा हस्तक्षेप गर्ने युवा नेताहरूको भनाइ छ । उनीहरूले नेताहरूलाई विकल्पसहितको सुझाव दिने बताउँदै आएका थिए ।
युवा नेताहरूले पौडेललाई सभापतिको उम्मेदवार बनाउने र सभापतिका अन्य आकांक्षीलाई उपसभापति र महामन्त्रीलगायतका पदाधिकारीमा व्यवस्थापन गर्न पनि उनीहरुले सुझाव दिएका छन् । छलफल सकेर युवा नेताहरू प्रकाशमान सिंह र शेखर कोइरालालाई भेट्न गएका छन् । अर्जुननरसिंह केसी, बलबहादुर केसी र रामशरण महत प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन् भने गगन थापा, धनराज गुरुङ र जीवन परियारलगायतका नेताहरू भने शेखर कोइरालालाई भेट्न गएका छन् ।
कांग्रेस सभापतिका प्रत्याशी शेखर कोइरालाले प्रकाशमान सिंहले दाबेदारी छाडे रामचन्द्र पौडेललाई समर्थन गर्ने बताएका छन् । बिहीबार बिहान पौडेल निवास बोहोराटार पुगेर कोइरालाले साझा उम्मेदवार बन्न सक्ने अवस्थामा आफ्नो समर्थन हुने बताएका हुन् । तर सिंहले भने कुनै पनि हालतमा आफ्नो अडान नछोड्ने बताउँदै आएका छन् ।