काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ । नेपालमा पहिलो पटक दुई जनामा ओमिक्रोन भाइरस पुष्टि भएको हो ।
६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा ओमिक्रोनका संक्रमित भेटिएपछिको अवस्थाबारे छलफल गर्न सोमबार दिउँसो स्वास्थ्य मन्त्रालयमा मन्त्रीस्तरीय बैठक बसेको स्रोतले जनाएको छ ।
दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरियन्टको संक्रमण विश्वका विभिन्न देशमा फैलिरहेको छ । नेपाल यस अघि नै उक्त भाइरस फैलन नदिन अफ्रिका लगायतका मुलुकहरुका नागरिकहरुलाई नेपाल आउन रोक लगाइसकेको छ ।